युएनडिपी, जिइएफ र एसजिपीको सहयोग र स्वास्थ सीपमूलकशैक्षिक बिकास केन्द्र पाल्पाको आयोजनामा रैनादेवी छहरा ६ जुठापौवामा जीविकोपार्जनका लागि भूसंरक्षण परियोजना कार्यक्रम सम्पन्न भएको छ । जुठापौवाको अमिलेमा ५० घरका किसानलाइ जैविक तरकारी खेती तालिम तथा जैविक बिषादी निर्माण तथा प्रयोगसम्बन्धि सचेतना तालिम सम्पन्न भएको हो ।

फाल्गुण १२ र १३ गते सञ्चालित सो तालिममा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जैविक तरकारी खेती गर्ने तरिका तथा माटो परिक्षणका लागि नमुना संकलन सीप तरकारीको ब्याड बनाउने तरिका , टनेल बनाउने तरिकाका बारेमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिए भने संस्थाका प्रबन्ध निर्देशक डा. राम बहादुर राउतले जैविक बिषादी निर्माण तथा प्रयोगको बारेमा प्रशिक्षण प्रदान गरे ।

कार्यक्रमको अन्तमा ५० घरका किसानलाइ एक एक टनेल तथा सिमी, बोडी, काँक्रो तथा तिते करेलाको बिउ बितरण गरिएको थियो । यो कार्यक्रमले तरकारी खेतीमा ५० घर बदाम खेतीमा ६० घर फापर खेतीमा १०० रोपनी १०० घरमा मातृभूमि चुल्हो, १०० रोपनीमा गह्रा सुधार गर्न सहयोग गर्नुका साथै नेपाने डाँडालाइ पूर्वको काउले डाँडा जस्तै बनाउन ४० हजार अम्रिसो, १० हजार तेजपात तथा १० हजार टिमुर रोप्न सहयोग गर्ने कुरा संस्थाका प्रबन्ध निर्देशक डा. राउतले जानकारी दिए ।